Saturday, May 15, 2010

एक्जुकेटिव ल्यापटप : सोनी भायो ११७

कुनै समय पर्सनल कम्प्युटरको पर्याय बनेको डेस्कटप कम्प्युटरको स्थान अहिले ल्यापटप कम्प्युटरले लिन थालेको छ । एक दशकअघिसम्म डेस्कटप कम्प्युटर उच्च अधिकारीहरूको सान बन्थ्यो भने अब ल्यापटपले सो स्थान ओगट्न थालेको छ । उच्च क्षमताका ल्यापटपको विकाससँगै डेस्कटपको स्थान ल्यापटपले लिन थालेको छ । बजारमा विभिन्न खालका ल्यापटप आएका छन् । ल्यापटपको भीडमा आफूलाई चाहिने ल्यापटप छान्न निकै कठिन बन्दै गएको छ ।


विशेषगरी आफ्नो अधिकतम समय व्यावसायिक गतिविधिमा बिताउने उच्च अधिकारीहरूलाई यस्तो समस्या पर्ने गरेको छ । उनीहरूको यही समस्या समाधान गर्ने प्रयासस्वरूप सोनीले एक्जुकेटिभलाई उपयुक्त हुने ल्यापटप बजारमा ल्याएको हो । सन् २०१० देखि बजारमा आएको सोनीको भायो जेड ११७ मोडलको ल्यापटप एक्जिक्युटिभलाई अति उपयोगी हुने कम्पनीको दाबी छ । कार्बन फाइबरबाट बनेको कालो रंगको यो ल्यापटप निकै आकर्ष छ ।
१३ दशमलव १ इन्चको डिस्प्ले भएको यो सोनीको भायो ल्यापटपको डिजाइन पनि उच्चकोटिको छ । १ दशमलव ४१ किलो तौल भएको यो ल्यापटपमा डिभिडी राइटर पनि छ, जसको मद्दतले तत्कालै डिभिडीमा राइट गर्न सकिन्छ । एलइडी ब्याकलाइट भएको किबोर्ड भएकाले राति पनि मज्जाले टाइप गर्न सकिन्छ । किबोर्डको तुलनामा टचप्याड भने त्यति आकर्ष छैन ।
ल्यापटपमा तीनवटा युएसबी पोर्ट, मेमोरी कार्ड रिडर, एचडिएमआई आउट, इथरनेट ज्याक, हेडफोन ज्याक र फिंगर रिकग्नेसन (आैठाछाप चिन्ने) प्रविधि रहेको छ । यो प्रविधिले कम्प्युटरलाई अनधिकृत प्रयोग गर्नबाट जोगाई सूचना सुरक्षित गर्न सहयोग पुर्याउँछ । ल्यापटपको दाहिने भागमा समेत युएसबी पोर्ट भएकाले माउस राख्न सहज हुन्छ । यो ल्यापटपमा इन्टेलको कोर आई ७६२० एम प्रोसेसर प्रयोग गरिएकाले यसको गति सामान्य ल्यापटपभन्दा छिटो हुन्छ । यसको दोहोरो ग्राफिक भएकाले डिजाइनिङ गर्न पनि कुनै समस्या हुँदैन । यसैगरी, यसमा तीन मोड- स्टामिना, स्पिड र ओटोपनी जसले गर्दा आफ्नो आवश्यकता र शक्ति-सञ्चयका आधारमा मोड छान्न सकिन्छ । दुर्इवटा ग्राफिक सिस्टम र तीन मोड यो ल्यापटपको महत्त्वपुर्ण फिचर हो । सामान्य काम गर्नु छ भने अटोमोड छान्नुहोस्, अनि भिडियो हर्ने हो भने स्टामिना । त्यसैगरी, ग्राफिकको काम गर्नु छ भने स्पिड छान्नुहोस् । अटोमा सबैभन्दा कम ऊर्जा खपत हुन्छ भने स्टामिनामा सबैभन्दा धेरै । यसैगरी, यो ल्यापटपले तपाईंको ऊर्जा स्रोतका अनुसार ग्राफिक्स सिस्टम प्रयोग गर्छ । भिडियो हेरिरहनुभएको छ अनि बिजुलीको लाइनबाट चलाइरहनुभएको छ भने एनभिडियाको ग्राफिक्स सिस्टम चल्छ भने ब्याट्रीबाट चलाउँदा इन्टेलको ग्राफिक्समा चल्छ । यसका लागि तपार्इंले कुनै एडजस्टमेन्ट गर्नुपर्दैन, अटोमेटिक हुन्छ । पछि तपार्इंले लाइन जोड्नुभयो भने पुनः एनभिडियाको ग्राफिक्समार्फ भिडियो चल्न थाल्छ । अटोमेटिक स्विचिङ प्रविधिकै कारणले गर्दा यसको ब्याट्री न्यूनतम साढे तीन घन्टासम्म मज्जाले चल्छ । १०८० पी एनडीको सपोर्ट गर्ने भएकाले यसमा भिडियो पनि राम्ररी चल्छ ।
सोनी भायोको यो मोडलमा २ सय ५६ जिबीको हार्डडिस्क छ, जुन उच्चपदस्थ अधिकारीका महत्त्वपुर्ण कागजात राख्न पर्याप्त हुन्छ । समग्रमा भन्दा यो ल्यापटक उच्चपदस्थ अधिकारीका लागि हलुका, विश्वसनीय एवं भरपर्दो ल्यापटप हो । यसको डिजाइन र लुक दुवै आकर्ष भएकाले सबैको मन जित्न सक्षम हुन्छ । डेस्कटपको राम्रो विकल्प बन्न सक्ने यो ल्यापटपको मूल्य भने केही महँगो छ । भारतीय बजारमा यसको मूल्य नेपाली रुपैयाँ २ लाख ८ हजार पर्छ । नेपाली बजारमा भने यसको मूल्य २ लाख पचास हजारको हाराहारीमा पर्न सक्छ । 

No comments:

Post a Comment